हराउँदै होलीको रौनक, हाेली किन मनाइन्छ ? हाेलीकाे इतिहास

परासी चैत्र ६ ।
रंगहरुको पर्व ‘होली’ सुरु भएको छ । पहाडी क्षेत्रमा आज (बुधबार¬) र तराई क्षेत्रमा भाेली बिहीबार यो पर्व धुमधामका साथ मनाइदैं छ । होलीले सम्पूर्ण नेपालीमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाटगर्दै होली मनाईने गरिन्छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली खेल्न मन नहुनेहरुलाई रंग नदल्नु पानी नछ्याप्नु । तर यो लागू भएको पाइदैन् । जबर्जस्ती गर्नेलाई कारबाही गरिने भनिए पनि व्यवहारिक रुपमा भने लागू भएको पाइदैन । रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने गरिएको पाइएको छ । यसले उत्सव नभएर होलीप्रति नकारात्मक सोंच जगाउँछ ।


होलीका दिन अति–आवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतिमा नै रंग दल्नु राम्रो हुन्छ । कतिपय शोकको समयमा रहेकाले रंग लगाउन हुँदैन भन्ने मान्यता छ । त्यसप्रति पनि सजक हुनुपर्ने देखिन्छ । इच्छा विपरित कसैको शरीरमा रंग र लोला हान्न कसैलाई छुट छैन । कतिपयले भाङ, गाजाँ र अन्य नशामा होली खेल्ने गर्दछन् । यसले स्वास्थ्यमा असर त पार्छ नै । नशामा तिव्र गतीमा सवारीसाधन चलाउँदा अकल्पनिय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजक हुन आवश्यक छ । कतिपयले होलीमा ‘खाई हालौं’ भनेर नशालु पदार्थ चाख्ने गरेको पनि पाइएको छ । यसो गर्नुहुँदैन । केही क्षण यसको रमझममा भुलेपनि बानी परेको खण्डमा यसको दीर्घकालिन असर नराम्रो हुन्छ । आर्थिक क्षति छदै छ, स्वास्थ्यमा समेत नकरात्मक असर पु¥याउँदछ । त्यसैले स्वस्थ र स्वच्छ वातावरणको होलीमा समाहित हुनु नै राम्रो हुनेछ ।


होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा मनाइन्छ । होली रंगहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रंगहरू हालेर एक अर्कालाई रंगिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।


होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रंग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । स–सना नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ’पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन् । यो पर्व फागन शुक्ल पूर्णिमामा मनाउने भएकाले यसलाई ‘फगुआ ’पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने फागु पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रंगिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्लागर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगिन पर्वको रूपमा लिइन्छ ।


होलीको पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रंग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रंग र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो ।

यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विंध्यक्षेत्रको रामगढ स्थानमा स्थित ईसा भन्दा ३०० वर्ष पूरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ ।
नेपालमा मात्रै होइन अरु देशमा पनि होली मनाइन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्याण्ड आदि देशमा पनि आ–आफ्नै प्रकारले यो पर्व मनाइन्छ । होलीलाई असत्यमाथि सत्यको जीतको प्रतीकका रुपमा लिइन्छ । साभारः परासी पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *