वंशजको नागरिकता दिन बाटो खुल्यो

बैशाख ३, २०७६काठमाडौँ – सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएको छ ।

गत चैत १९ गते गृहमन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिक प्रदान गर्नु भन्दै ७७ वटै जिल्लामा गरेको परिपत्र कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिएर दुवै पक्षलाई मंगलवार छलफलका लागि अदालतले बोलाएको थियो


आज (मंगलवार) भएको छलफलमा सर्वोच्चले गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन सन्दर्भमा यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनायो ।  न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले उक्त निर्णय सुनाएको हो । सर्वोच्चको आजको निर्णयपछि गृहको परिपत्र अनुसार जन्मसिद्धका सन्तानले पनि वंशजको नागरिकता पाउने बाटो खुला भएको छ ।

यस अघि ७७ वटै जिल्लामा गृहले परिपत्र गरेपछि अधिवक्ता बालकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त रिटमाथि सुनुवाई गर्दै गृहको परिपत्र तत्कालका लागि कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश जारी गरेको थियो । लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *