फैलिँदै अंग्रेजी भाषाको ‘भाइरस’ : विदेशी योजनामा अभिभावक र शिक्षक नै भ्रमित !

फागुन १३, २०७५

आदिगुरू शंकराचार्यका अनुसार आत्मानुभूति नै शिक्षा हो । मानवको रुपमा जन्म प्राप्त गरेको जीवले शिक्षा प्राप्त गर्नुको एक र अन्तिम उद्देश्य नै आत्मानुभूति हुन जान्छ । तर उनको परिभाषाले मात्रै हामी सन्तुष्ट हुन सक्दैनौं होला ।

किनभने हामी आत्मानुभूतिको कुरा त धेरै टाढाको विषय, शिक्षामार्फत् प्रदान गरिने विषयवस्तुको ज्ञान पनि कुनै विदेशी भाषाको माध्यमबाट लिँदा वा दिँदा बढी सिक्न सकिन्छ भन्ने भ्रममा छौं । त्यसकारण यहाँ पाश्चात्य दार्शनिकले शिक्षा सम्बन्धी दिएको परिभाषालाई समेत उल्लेख गर्ने प्रयास गर्दैछु ।

पाश्चात्य दार्शनिक सुकरातका अनुसार, ‘प्रत्येक मानिसमा मस्तिष्कमा ब्रह्माण्डका वर्तमान वैध विचारहरू ग्रहण गराउने माध्यम शिक्षा हो ।’ प्लेटोका अनुसार, ‘उपयुक्त समयमा सुख र दुःख अनुभव गर्ने शक्ति शिक्षा हो । यसले मानिसको शरीर र आत्मामा सौन्दर्य विकास गराउँछ र उसमा भएको क्षमताको प्रदर्शन गराउँछ ।’ जोन डिवेका अनुसार, ‘व्यक्तिका सम्पूर्ण क्षमताहरूको विकास गराउनु नै शिक्षा हो ।’

यी परिभाषाबाहेक अन्य कुनै पनि शिक्षा सम्बन्धी परिभाषाहरूमा पनि शिक्षालाई कुनै निश्चित माध्यम भाषाको घेराभित्र राखेर नै प्रदान गरिनुपर्छ भन्ने धारणा पाइँदैन । तर नेपालमा शिक्षाको गुणस्तर र प्रभावकारितालाई अंग्रेजी माध्यम भाषासँग जोडेर हेर्ने प्रचलन बढेको छ, यो बडो आश्चर्यलाग्दो विषय छ ।

हाम्रो समाजमा अंग्रेजी माध्यमप्रति एकदमै भ्रमपूर्ण धारणा निर्माण भएको छ । वास्तवमा के हो त शिक्षामा अंग्रेजी माध्यम ? यसबारे धेरैजसो शिक्षाप्रेमीले नै भ्रमपूर्ण धारणा बनाएर बसेका छन् । शिक्षामा माध्यम भन्ने बित्तिकै भाषाको कुरा उठ्छ । सिधा रुपमा भन्दा पहिलो भाषा अंग्रेजी प्रयोग नगर्ने समुदायमा पनि पठनपाठन हुने सम्पूर्ण प्राज्ञिक विषयहरू अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गरिनु अंग्रेजी माध्यमको शिक्षा हो । 

अब शिक्षाको उद्देश्य के हो ? यस सम्बन्धमा पनि विचार गरौं । शिक्षाको उद्देश्य नै बालकको अन्तर्निहित शक्तिको सर्वाङ्गिण विकास गर्नु हो । अर्थात्, व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, सांस्कृतिक, आध्यात्मिक र नैतिक विकास गर्नु शिक्षाको उद्देश्य हो, यसलाई शिक्षाको वास्तविक उद्देश्य पनि भनिन्छ ।

शिक्षाको उद्देश्य पूरा गर्नमा शिक्षाको माध्यम अंग्रेजी हुनुले कुनै खास भूमिका निर्वाह गरिरहेको हुँदैन । बरु बालकलाई आफ्ना स्वतन्त्र विचारहरू आफ्नो मौलिक भाषामा मौलिक तरिकाले अभिव्यक्त गर्नमा अंग्रेजी माध्यमले निषेध गरिरहेको हुन्छ । अप्रत्यक्ष तरिकाले बालकलाई अपरिचित भाषाको माध्यमले धेरै कुराको स्वतन्त्र सिकाइमा बाधा उत्पन्न गरिरहेको छ । यस तथ्यमा हरेक शिक्षासेवीका आ–आफ्ना तर्क–वितर्क होलान् । तर तीतो यथार्थ के हो भने आम जनमानसमा अंग्रेजी माध्यमले शिक्षाको गुणस्तर बढाउँछ वा अंग्रेजी माध्यमले विद्यार्थीको अंग्रेजी राम्रो हुन्छ भन्ने दुवैथरिका बुझाइहरू सर्वथा गलत बुझाइ र भ्रमका रुपमा रहेका छन् ।

नेपालमा निजी मात्रै नभएर सरकारी विद्यालयमा समेत अंग्रेजी माध्यमबाट पठनपाठन हुने लहर नै चलिरहेको सर्वविदिदै छ । नेपाल इतिहासमा कहिल्यै पनि कसैको अधिनमा नरहेकाले हामी इतिहासप्रति गर्व गर्छौं । तर अहिले जानी–नजानी भाषिक रुपमा नवउपनिवेशतिर फसिरहेका छौं । भाषाको यस्तो प्रभाव विश्वका अधिकांश ब्रिटिश उपनिवेश रहेका र हाल अमेरिकी तथा पश्चिमा प्रभाव बढी भएका देशमा रहेको पाइन्छ । 

अंग्रेजी माध्यम सम्बन्धी स्पष्ट नीति र निर्देशिका विना केवल निजी स्कूलको नक्कल स्वरुप सरकारी विद्यालयले अंग्रेजी माध्यम लागू गर्नुको अर्थ शिक्षाको गुणस्तर बढ्नु र प्रभावकारी सिकाइ हुनु होइन । किनकि अंग्रेजी माध्यमको प्रभावकारिता सम्बन्धी एउटा महत्त्वपूर्ण पक्ष सक्षम शिक्षकको उपलब्धता हो । त्यो भनेको विषयवस्तुलाई अंग्रेजी माध्यमबाट कति प्रभावकारी रुपमा शिक्षण गर्न सकिन्छ भन्ने हो । तर विषयवस्तु र अंग्रेजी भाषा दुवैमा पूर्ण दक्ष शिक्षक विश्वभर नै एकदमै न्यून प्रतिशतमा छन् । जस्तैः अक्सफोर्ड विश्वविद्यालयको शिक्षा विभागले नै गरेको एउटा अनुसन्धानको कुरा गर्दा विश्वका ५५ देशमा त्यस्ता सक्षम शिक्षक १.८ प्रतिशत मात्रै रहेको देखिएको थियो । 

अब हामी आफैं एक पटक गहिरिएर सोचौं  – यसको अर्थ हाम्रो अंग्रेजी माध्यमप्रतिको मोह कति भ्रामक छ । किनकि हरेक विषयमा अंग्रेजी माध्यम उपयुक्त छैन । जस्तैः सामाजिक विषयमा कुनै पनि देशको समाजसँग सम्बन्धित विषयवस्तु अध्ययन गरिन्छ, के विद्यार्थी वा शिक्षकले नै आफ्नो समाज सम्बन्धी विषयवस्तु दोस्रो वा तेस्रो भाषामा राम्ररी बुझ्न र बुझाउन सक्लान् ? के बच्चाले आफूले नबुझ्ने भाषामा आफ्नो मौलिक विचारहरू व्यक्त गर्न सक्लान् ? होइन भने के सुगा रटाइ गराउनु नै प्रभावकारी सिकाइ हो ?

भाषा शिक्षाका अनुसन्धानबाट के प्रष्ट भइसकेको छ भने – विद्यालय जाने बालकले उसले बुझ्ने भाषामा सिक्न शुरूवात गर्‍यो भने उसको भाषा र विषयवस्तुको सिकाइ प्रभावकारी हुन्छ । जसले उ दोस्रो भाषालाई पनि राम्रोसँग सिक्न सक्छ । यो तथ्य अमेरिकामै पनि प्रमाणित भएको विभिन्न अनुसन्धानबाट खुलेको छ । अमेरिकामै पनि अंग्रेजी माध्यमबाट पढेका विद्यार्थीभन्दा मातृभाषाबाट शिक्षा हासिल गरेका विद्यार्थीको नतिजा सबै विषयमा राम्रो पाइएको छ । 

यसबाट के प्रमाणित हुन्छ भने अंग्रेजी माध्यमले कण्ठ गरेका कुरा जस्ताको तस्तै व्यक्त गर्न सके संख्याको रुपमा देखिने सिकाइको नतिजा उच्च आउन सक्ला । तर यसले गुणस्तरीय सिकाइ हुन सक्दैन । किनभने गुणस्तरीय सिकाइ बालकको सर्वाङ्गिण विकाससँग सम्बन्धित छ, न कि ३–४ घण्टे परीक्षाको नतिजासँग । संसारमा मानवीय स्वभाव वास्तविकताभन्दा हल्लाको पछि बढी दौडिरहेको हामीले देखिरहेका छौं । यसैको प्रभाव अंग्रेजी माध्यममा पनि देखिएको छ ।

अंग्रेजी माध्यमले सिकाइ राम्रो हुन्छ, नेपाली माध्यम र मातृभाषामा सिकाइ कमजोर हुन्छ, अंग्रेजी माध्यम नै गुणस्तरीय शिक्षा हो, यसले अंग्रेजी भाषा पनि राम्रो हुन्छ जस्ता एकदमै सतही र भ्रमपूर्ण धारणाले गर्दा शिक्षाका आधारभूत सिद्धान्त र उद्देश्य नै ओझेलमा परिरहेका छन् । 

आम जनसमुदायको शिक्षाप्रतिको यस्तै भ्रमपूर्ण धारणाले गर्दा सरकारी विद्यालयले विद्यार्थी टिकाउनकै लागि भएपनि अंग्रेजी माध्यम घोषणा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको समेत सत्य हो । तर यसले केवल विद्यालयमा केही विद्यार्थी संख्या बढ्नु र परीक्षाको नतिजामा केही संख्यात्मक सुधार आएकोजस्तो देखिएपनि वास्तविक सिकाइमा कुनै उपलब्धी हाँसिल गर्न सकिँदैन । किनभने, अंग्रेजी माध्यम र शिक्षाको गुणस्तरबीच कुनै सम्बन्ध छैन ।

शिक्षाको गुणस्तरका आधारभूत तत्वहरू सिकाइ सहभागिता, सिकारुको रुची, सिकाइमा लगानी, सिकाइ वातावरण र अन्तर्क्रिया, अभ्यास, सिकारुको घरायसी वातावरण आदि हुन् । सिकारुको लागि खुला वातावरण आवश्यक पर्छ । तर जब सिकाइ एउटा भाषिक माध्यमको घेराभित्र संकुचित हुन पुग्छ, त्यस्तो अवस्था, सिकाइको लागि दुर्भाग्यपूर्ण हुन जान्छ । 

धेरैजसो निजी विद्यायलमा अंग्रेजी माध्यमको नाममा मातृभाषा र नेपाली भाषा विद्यालयभित्र प्रयोग गर्न नपाइने नियम बनाइएको पाइन्छ । यदि कुनै विद्यार्थीले नेपाली भाषा प्रयोग गरेमा सजायको भागिदार बन्नुपर्छ । यो कुन हदसम्मको संकुचित विचारले प्रवेश गर्‍यो शिक्षाजस्तो संवेदनशिल क्षेत्रमा ? अनि यसभन्दा संकुचित सोचाइ त के भने जुन विद्यालयमा सिकारुलाई भाषाको जेलभित्र खुम्च्याउने प्रयास हुन्छ, त्यसै विद्यालयलाई गुणस्तरीयताको उपाधि दिन हामी तत्पर हुन्छौं ।

बौद्धिक तथा सिर्जनात्मक काममा अंग्रेजी माध्यमबाट गएका विद्यार्थी स्थानीय भाषामा अध्ययन गरेका विद्यार्थीभन्दा औसतमा पछाडि रहेको तथ्य विभिन्न अध्ययनबाट पुष्टि भएको छ । यस्तो हुनुको मुख्य कारण नै सिकाइमा निश्चित माध्यम भाषाको घेरा कोरिनु नै हो । किनभने भाषिक सीमाको कारणले विद्यार्थीको मौलिकता र सिर्जनात्मकता खुम्चिन पुग्छ । यसरी उसको सिकाइ एउटा मेसिनले गर्ने कार्यजस्तै हुन पुग्छ । अर्थात् बालकको मस्तिष्क ‘रोबोटिक’ हुन पुग्छ । मानव मस्तिष्क यस्तो अवस्थामा पुग्नु साँच्चिकै दर्दनाक अवस्था हो ।

एउटा बालक विद्यालयमा माध्यम भाषाको कारण आफ्नो सर्वाङ्गिण विकास गर्नबाट वञ्चित हुन पुग्यो भने निश्चित उमेरसम्म हुने उसको बौद्धिक विकास फराकिलो र खुला हुन पाउँदैन ।

नेपाली माध्यम कमजोर र गरीब विद्यार्थीको पर्याय बनिसकेको छ भने अंग्रेजी माध्यम सम्भ्रान्त र बुद्धिमान विद्यार्थीको पर्याय । हो, अंग्रेजी भाषा पठनपाठन हुनुपर्छ, जसका लागि सक्षम शिक्षक र सिकारु सहभागिता भयो भने उच्च शिक्षासम्म नै एउटा अनिवार्य विषय पर्याप्त छ । तर हाम्रो भाषा नै हराउने गरी शिक्षाको माध्यम भाषा नै विदेशी भाषा किन बनाउने ? नेपाललाई आउने अधिकांश वैदेशिक सहायताको अप्रत्यक्ष उद्देश्य नवउपनिवेशवादसँग नै जोडिएको विभिन्न अध्ययनले देखाएको छ ।

नेपालले गर्ने शिक्षाको लगानीमा वैदेशिक सहायताको ठूलो हिस्सा रहेको छ । जसमा पाठ्यक्रम निर्माणदेखि लिएर विभिन्न शिक्षा कार्यक्रम समावेश छन् र ती कार्यक्रममा पनि कतै शिक्षाको अंग्रेजी भाषिक माध्यम लागू गर्ने उद्देश्य पनि हावी भएको त छैन ? गम्भीर प्रश्न छ । यसरी अंग्रेजी माध्यमप्रतिको यो अनौठो मोह सिर्जना हुनु पछाडिको रहश्य, अप्रत्यक्ष रुपमा शिक्षामार्फत् हाम्रो भाषा र संस्कृतिमाथि आक्रमण त होइन ? अंग्रेजी माध्यम जुन न त शिक्षाको गुणस्तरसँग सम्बन्धित छ, न त प्रभावकारी सिकाइसँग नै भने हामी किन अंग्रेजी माध्यमप्रति यतिधेरै आकर्षित भयौं ? यो नवउपनिवेशको जञ्जिरमा पूर्णरुपमा फस्नुभन्दा अझै पनि समय छ, हामी शिक्षालाई आफ्नै मौलिक भाषामा ग्रहण गर्न सक्ने अवस्था सिर्जना गर्नतिर लाग्नु भविष्यका लागि सही मार्गदर्शन हुनेछ ।

अंग्रेजी भाषा सिक्नुपर्छ । तर त्यसका लागि सम्पूर्ण शिक्षाको माध्यम नै अंग्रेजी बनाइरहनु आवश्यक छैन । भाषा र संस्कृतिमाथि आक्रमणको कुटनीति अन्तर्गत नै अंग्रेजी माध्यम शिक्षाको विस्तार भइरहेको यथार्थबोध गरौं । किनभने माथि तथ्यगत रुपमा अंग्रेजी माध्यम र गुणस्तरीय शिक्षाको कुनै सम्बन्ध नरहेको कुरा पुष्टि गर्ने उदाहरणहरू उल्लेख गरिसकेकी छु । 

अन्य देशको भाषालाई शिक्षाको माध्यम भाषा बनाउनुभन्दा हामी आफ्नो मौलिक भाषा र संस्कृतिप्रति सचेत भई त्यसैलाई आफ्नो मौलिक र सिर्जनात्मक भाषाको माध्यमबाट शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गरी अंग्रेजी माध्यमबाट शिक्षा हासिल गर्नुपर्ने बाध्यतालाई बिस्तारै निरुत्साहित गर्नतिर लाग्ने हो कि ! साभारः लाेकान्तर

CATEGORIES
Share This

COMMENTS

Wordpress (0)
Disqus ( )