पर्खाल विवादले अमेरिकामा आपतकाल

४ फागुन, काठमाडौं । मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल बनाउने विषयमा संसदले बजेट स्वीकृत नगरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेका छन् ।

शुक्रबार ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने अमेरिकामा नशालु पदार्थ, मानव तस्करी र अपराधको खतराको बादल मडारिएको छ । त्यसलाई रोक्न सिमानामा पर्खाल लगाउन जरुरी छ ।

तर, राष्ट्रपति ट्रम्पको यो कदमको आलोचना भएको छ । आपतकाल घोषणाले संवैधानिक जिम्मेवारीप्रति राष्ट्रपति ट्रम्पको लापरवाहीलाई देखाउने हाउस ज्युडिसिएरी कमिटीले ठहर गरेको बीबीसीले जनाएको छ । साथै डेमोक्रेट्स सांसदहरुले ट्रम्पले आफ्नो शक्तिको गलत प्रयोग गरेको टिप्पणी गर्दै यसविरुद्ध अदालत जाने चेतावनी दिएको छ ।

तर ट्रम्पले भनेका छन् कि यस कदमविरुद्ध डेमोक्रेट्स सांसदले अदालतमा चुनौति दिने कुरा मलाई थाहा छ तर मलाई यो कुरा पनि थाहा छ कि अदालतले सुरक्षा संवेदनशीलतासँग जोडिएको विषयलाई पनि सुन्ने छ ।

ट्रम्पका अनुसार संकटकाल घोषणापछि सरकारी ढुकुटीबाट आठ बिलियन डलरसम्म रकम निकासा हुनेछ र त्यो रकमलाई पर्खाल लगाउन प्रयोग गरिने छ ।

ट्रम्पले राष्ट्रपति चुनावमै मेक्सिकोसँग जोडिएको सिमानामा पर्खाल लगाउने कुरालाई आफ्नो एक प्रमुख एजेण्डा बनाएका थिए । राष्ट्रपति निर्वाचित भएपछि उनले पर्खाल लगाउनका लागि ५.६ अर्ब डलरको बजेट माग गरेका थिए । तर गत डिसेम्बर महिनामा संसदले त्यसलाई अस्वीकार गरिदियो । त्यसको बदलामा ट्रम्पले अन्य विषयमा बजेट निकासाका लागि हस्ताक्षर गर्न अस्वीकार गरिदिए । त्यसपछि २२ डिसेम्बरबाट अमेरिकामा कामबन्दी अर्थात शटडाउन सुरु भयो ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउनका लागि आवश्यक बजेटको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलबीच विवादका कारण सरकारी कामकाज अहिले पनि ठप्प हुँदै आएको छ । यसअघि ट्रम्पले बजेट व्यवस्थाका लागि संसदले स्वीकृति नदिएमा वर्षौंसम्म कामकाज ठप्प भए पनि आफूलाई स्वीकार्य हुने बताएका थिए ।

अमेरिकामा शटडाउनका कारण करिब आठ लाख कर्मचारीहरुले तलब पाएका छैनन् अर्थात उनीहरुलाई अस्थायी रुपमा कामबाट निकालिएको छ । जसका कारण अमेरिकाका सबै क्षेत्र प्रभावित हुँदै आएका छन् । एयर ट्राफिक कन्ट्रोलमा कर्मचारी अभाव हुँदा विमानस्थलहरुमा उडान ढिला हुने गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । साभारः अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *