नवलपरासीमा १२ हजार परीक्षार्थी  एसईई परीक्षा दिने


परासी, चैत्र ५,
चैत १० गते (आइतबार)बाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा नवलपरासीका दुई जिल्लाबाट कुल १२ हजार ४ सय ४१ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा पूर्वी जिल्लाबाट ६ हजार ६ सय ७० र पश्चिम जिल्लाबाट ५ हजार ७ सय ७१ परीक्षार्थी सहभागि हुने छन् ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका इकाई प्रमुख कृष्णचन्द्र पोखरेका अनुसार सहभागी हुने परीक्षार्थीमा प्राविधिकधारसहित ६ हजार ६ सय २७ नियमिततर्फका छन् भने ग्रेडवृद्धि (एक्जाम्टेड) तर्फ ४३ जना छन् । परीक्षामा संस्थागत र सामुदायिक गरी कुल १ सय ३६ विद्यालय सहभागी हुँदै छन् । परीक्षाका लागि २४ केन्द्र तोकिएको छ । जसअनुसार पहाडी क्षेत्रका लागि डेडगाउँ मावि डेडगाउँ र त्रिभुवन मावि वुलिङटार छन् । त्रिवेणी क्षेत्रमा राष्ट्रिय निमावी रानीनगरमा परीक्षा केन्द्र तोकिएको पोखरेलले जानकारी दिनुभयो । अन्य परीक्षा केन्द्र दुम्किवासदेखि गैंडाकोटसम्मका विद्यालयमा छन् । परीक्षामा संस्थागततर्फ ४९ र सामुदायिकतर्फ ८७ विद्यालय सहभागी छन् ।
त्यसैगरी पश्चिम जिल्लाबाट प्राविधिकधारसहित ५ हजार ७ सय १४ नियमिततर्फका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । ग्रेडवृद्धितर्फ ५७ जना छन् । ग्रेडवृद्धितर्फ सहभागी हुने परीक्षार्थीमा २०७४ का ३६ र २०७३ सालअघीका २१ परीक्षार्थीसमेत सहभागी हुने पश्चिम नवलपरासी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रामप्रसाद शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि १८ केन्द्र निर्धारण गरिएको छ । कुल १ सय १६ विद्यालय परीक्षामा सहभागी हुने छन् । जसमा संस्थागत र सामुदायिक विद्यालयको संख्या ५८÷५८ छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । अन्य विषयको परीक्षा चैत १८ गते सकिने छ । प्राविधिकधारसहितको परीक्षा भने २१ गते सकिने छ । साभारः परासी पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *