सोमबार राति नै अस्पताल भर्ना भइन् आस्था राउत

काठमाडौं, १४ माघ । गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको अनलाइनखबरलाई बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँलाई अस्पताल लगिएको हो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवेदीले भने ।

यसअघि १ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

राउतको भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् भने चार दिनपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेर चार दिन म्याद थप गरिएको भन्दै प्रशासनको आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *