सीके राउतको खुला राजनीतिमा अवतरणपछि, राजपा-फोरम एकता प्रक्रियामा नयाँ मोड !

चैत ७,काठमाडौं – स्वतन्त्र मधेशको नाममा पृथकतावादी गतिविधि गरिरहेका सीके राउतले विखण्डनकारी एजेण्डा छाडेर राष्ट्रिय राजनीतिको मूलधारमा आउने निर्णय गरेपछि मधेशकेन्द्रित संसदीय राजनीति गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच एकताको प्रक्रियाले नयाँ मोड लिएको छ । 

एक साताअघि राजधानीको एक होटलमा गोप्य बैठक बसेर राजपाले फोरमसँग एकता गर्न प्रक्रिया अगाडि बढाउने निर्णय लिएको हो । फोरमसँग वार्ता गर्नका लागि राजपाले मंगलवार राजेन्द्र महतोको संयोजकत्वमा वृशेषचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा सदस्य रहेको एक वार्ता समिति गठन गर्‍यो । एकताका लागि फोरमले मंसिरमै पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको थियो । फोरमको वार्ता समितिले पार्टी एकताको आह्वान गर्दै राजपालाई पत्र पठाएको लामो समय भइसक्दा पनि राजपासँग औपचारिक वार्ता हुन सकेको थिएन ।


यो फोरमको एकतासम्बन्धी प्रस्तावको पहिलो रेस्पोन्स भएको राजपाका नेताहरू बताउँछन् । ‘फोरमले औपचारिक रूपमा चिट्ठी नै पठाएर हामीलाई एकताका लागि अनुरोध गरेको हुँदा छलफल गरौं न त भनेर हामीले वार्ता समिति गठन गरेका हौं,’ राजपाको वार्ता समितिका सदस्य वृशेषचन्द्रलाल भन्छन्, ‘एकताको प्रक्रिया अहिलेसम्म एकदम प्रारम्भिक अवस्थामा छ । वार्ता समितिमा मलाई राखिएको छ भनेर हिजै जानकारी पाएको हो मैले ।’ 

एकता कुन मोडालिटीमा गर्ने भन्ने विषयमा राजपाले हालसम्म तय गरिनसकेको वृशेषचन्द्रलाल बताउँछन् । ‘पार्टीले रेस्पोन्स गरेको मात्र हो, दुवै टोली बसिसकेपछि मात्र एकताको मोडालिटी तय गर्नेछ,’ उनले भने, ‘तर राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्था र फोरम सरकारमै सहभागी भएको अवस्थाले वार्तालाई केही फरक पार्न सक्छ ।’ 

राजपाले संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएको छ । फोरमसँग एकता गर्नका लागि पनि सरकार छाड्नुपर्ने र संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाउनुपर्ने शर्त राख्ने सम्भावना छ ।

‘जबसम्म संविधान संशोधन हुँदैन, त्यतिबेलासम्म राजपाले सरकारलाई पुनः समर्थन गर्न पनि सक्दैन र फोरमसँग एकता भएपछि आधा सरकारमा बस्ने र आधा बाहिर बस्ने भन्ने कुरा त हुँदैन,’ वृशेषचन्द्रलालले लोकान्तरलाई भने । 

कहीँ मधेशमा सीके राउतको उदयका कारण तपाईंहरूले फोरमसँग एकता गर्ने प्रक्रियालाई हठात् शुरू गर्नुभएको हैन ? भन्ने प्रश्नमा उनले भने, ‘राउतको उदयबाट एकता प्रभावित छैन । सीके राउत आफ्नो एजेण्डाबाट पछि हट्नुभएको हो । स्वतन्त्र मधेशको माग लिएर हिँडिरहेको उहाँको हिजोको अवस्थाले त हामीलाई कुनै असर परेको छैन भने उहाँहरू राजनीतिक मूलधारमा आउँदा हामीलाई केको अप्ठ्यारो ?’

राजपाले एकताका लागि केही शर्त राखेको छैन – फोरम

राजपाले वार्ता समिति गठन गरिसकेपछि फोरमलाई औपचारिक पत्र पठाएर धन्यवाद दिएको छ । एकताको पहल गरेकोमा धन्यवाद दिइएको फोरमका नेता रामसहायप्रसाद यादवले लोकान्तरलाई बताए ।

‘हामीले कार्यदल बनाएर वार्ता प्रक्रिया अगाडि बढाउने प्रस्ताव गरेका थियौं, उहाँहरूले त्यसलाई रेस्पोन्स गर्दै औपचारिक पत्र पठाउनुभएको छ,’ यादवले भने, ‘यसबाट हामी खुसी नै भएका छौं ।’

औपचारिक रूपमा राजपाले एकताका लागि फोरमसँग केही शर्त नराखेको यादवको भनाइ छ । यद्यपि केही दिनअघि लोकान्तरसँग कुरा गर्दै राजपाका नेता अनिल झाले फोरमले सरकार नछाडेसम्म एकता हुन नसक्ने बताएका थिए ।

‘सरकार छोड्ने नछोड्ने विषयमा चिट्ठीमा केही उल्लेख गरिएको छैन,’ यादवले भने, ‘हामीले बसेर छलफल गरौँ भनेका छौं । छलफलपछि जे निष्कर्ष आउँछ त्यही गर्ने हाम्रो प्रस्ताव छ ।’

वार्ता टोली बनाएर एकताको मोडालिटीका बारेमा छलफल गर्ने आफ्नो प्रस्ताव रहेको यादवको भनाइ छ । साभारः लाेकान्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *