सिएमसीले सबै संकायको शुल्क समायोजन गर्ने, परीक्षामा सामेल हुन विद्यार्थीलाई आग्रह

मंसिर २८ चितवन मेडिकल कलेज (सीएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज एक विज्ञप्ती जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । सरकारसँग दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसमेत समायोजन गर्न लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सीएमसी प्रशासनले ६ बुँदे प्रतिबद्धतासहित विद्यार्थी तथा अभिभावकलाई समायोजित शुल्कको जानकारी लिन कलेजको कैलाशनगरस्थित लेखा शाखामा एक साताभित्र सम्पर्क गर्न अनुरोध गरेको छ। मंसिर १० मा सरकार र मेडिकल सञ्चालकबीच दुई बुँदे सहमति भएको थियो। जसमा एमबीबीएस र बीडीएसका पछिल्ला दुई शैक्षिक सत्रमा लिएको अतिरिक्त शुल्क मंसिर ११ बाटै समायोजन गर्ने भनिएको थियो। शैक्षिक सत्र ०७२/७३ र ०७३/७४ सम्बन्धमा चिकित्सा शिक्षा आयोगले निर्णय गरेबमोजिम हुने भन्ने छ। यो सहमतिलाई आन्दोलनरत विद्यार्थीले भने अस्वीकार गरेका छन्। उनीहरू चार शैक्षिक सत्रको शुल्क फिर्ता वा समायोजन हुनुपर्ने अडानमा छन्। पहिलो वर्षका विद्यार्थीले वार्षिक परीक्षा नदिएपछि दोस्रो वर्षका विद्यार्थीले पनि परीक्षा नदिने घोषणा गरेका छन्।

एमबीबीएस र बीडीएसको मात्रै नभएर अन्य शैक्षिक कार्यक्रमको शुल्क पनि फिर्ता वा समायोजन हुनुपर्ने विद्यार्थीको माग राख्दै आएका छन् । चितवन मेडिकल कलेजले अन्य स्नातक कार्यक्रम नर्सिङ, पब्लिक हेल्थ, बी फार्मेसी, बीएमएलटी, बीएमआईटीमा पनि तोकेको भन्दा बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।

विश्वविद्यालयले तोकेअनुसार नियमित वार्षिक परीक्षा शुल्क लिने र परीक्षा सञ्चालनका लागि लाग्ने अन्य अतिरिक्त शुल्क सम्बन्धित निकायले तोकेबमोजिम गर्ने सीएमसी प्रशासनको भनाइ छ। ‘सरकारसँग गरेको दुई बुँदे सहमतिभन्दा पनि अगाडि बढेर चितवन मेडिकल कलेजले अन्य शैक्षिक कार्यक्रममा समेत शुल्क समायोजन गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने चरणमा लैजाँदै छ,’ कलेजले निकालेको विज्ञप्तिका उल्लेख छ। कलेजले आन्दोलनका कार्यक्रम फिर्ता गरेर शैक्षिक, प्रशासनिक एवम् प्राज्ञिक क्रियाकलाप सुरु गराउन र विश्वविद्यालयका परीक्षामा सहभागी हुन र विश्वासको वातावरण तयार गरी शुल्क समायोजन प्रक्रियालाई सहयोग गर्न अनुरोध गरेको छ। सभारः नरायणी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *