बेपत्ता सूचीमा २५ सय ६ जनाको नाम

काठमाडौं, चैत्र ४ । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । 

आयोगले मंगलबार वेपत्ताहरुको सूची सार्वजनिक गरेको हो । सरकारद्वारा द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारेका व्यक्तिहरूको सूची सार्वजनिक गरेको आयोगका सुचना अधिकारी निराजन अधिकारीले रातोपाटीलाई बताए ।

राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको आधारमा वेपत्ताहरुको नाम सार्वजनिक गरिएको हो । आयोगले सार्वजनिक गरेको वेपत्ता लिष्टमा सवैभन्दा बढि बर्दियाका छन् । उक्त जिल्लाबाट २ सय ५४ जना वेपत्ताको उजुरीमा छन् । मनाङ र मुस्ताङबाट भने उजुरी नपरेको आयोगले जनाएको छ ।

वेपत्ताहरुको नाम सार्वजनिक गरेसँगै आयोगले उजुरीमाथि छानविन र वयानको काम गर्नेछ । त्यसक्रममा परिपुरण तथा एण्टीमोटम फाराम भराउने काम अघि बढाउने आयोगको तयारी छ । ‘यो सँगै आगामी साउन महिनाबाट पीडकसँगको बयान, सव उत्खनन र डिएनए परीक्षणको काम अघि बढाउने कार्ययोजना छ’, सूचना अधिकारी निराजन अधिकारीको भनाइ छ । राताेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *