प्रहरीले छोएलगत्तै पड्कियो बम, तीन जनाको मृत्यु

२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटिका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो ।

बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, घर धनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । विष्फोटमा राजेशका एक छोरा, एक छोरी र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा शंकास्पद बस्तु रातो रंगको झोलामा झुण्ड्याएको देखिन् । उनले यो कुराको जानकारी आफ्ना पति राजेशलाई गराइन् । राजेशले तत्कालै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । केहीबेरमै प्रहरी निरीक्षक अमिर दाहाल नेतृत्वको टोली आयो ।

प्रहरी निरीक्षक दाहालले झोला छुँदै ‘केही होइन’ भनेलगत्तै विष्फोट भएको भिखारीको भनाइ छ । घटनामा ज्यान गुमाएका राजेशका पिता भिखारी साहले भने, ‘प्रहरी निरीक्षक दाहाल आफैंले झोला छोएको केही सेकेण्डमै शक्तिशाली बिष्फोट भयो, सायद सेनाको टोलीलाई बोलाएको भए, यो क्षति हुने थिएन ।

यो घटनामा बम छोएका प्रहरी निरीक्षक दाहाल, घरधनी ४५ वर्षीय राजेश साह र साहका १५ वर्षीय छोरा आनन्दको ज्यान गएको छ । साहका १४ वर्षीय कान्छा छोरा प्रेम साह, छोरी अञ्जली साह र ७० वर्षीय बुवा भिखारी साह घाइते भएका छन् । घाइतेमध्ये भिखारीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ भने बाँकी सबैलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । प्रेम, अञ्जली र प्रहरी जवान महतोको अवस्था गम्भीर छ ।

मृतक राजेन्द्र साह औषधि व्यवसायी थिए । उनी महेन्द्रनगरमा औषधि व्यवसाय सञ्चालन गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनी व्याजमा रकम समेत लगानी गर्दै आएका थिए । उनीसँग व्याजमा रकम लिएका व्यक्तिहरुले नै बम राखेको हुन सक्ने आशंका गरेपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

विप्लव समूहले राखेको थियो बम !

साहको घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम राखेको हुनसक्ने प्रारम्भीक अनुसन्धानले देखिएको प्रहरीले बताएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हंसपुर नगरपालिका वडा नम्बर २ की ललिता देवी महरा र सीतादेवी महरा तथा मिथिला बिहारी नगरपालिका १ भुतहीका रामशोभित धानुकलाई पक्राउ परेको छ । उनीहरु विप्लव समूहका नेताहरु हुन् । अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *