धरहराको शिलन्यासः पीडितका घर कहिले उठ्छन् ?

अन्ततः धरहरा पुनर्निर्माणले गति लिएको छ । विनासकारी भूकम्पबाट भग्नावशेषमा परिणत भएको भिमसेन थापा कालीन धरहराको करिब ४ वर्षपछि निर्माण कार्य सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माणको शिलन्यास गर्नु एक महिनाअघि नै यसको जग खन्ने काम सुरु भएको हो । यद्यपी यसलाई उनले शिलन्याश गरेर औपचारिकता प्रदान गरेका छन्, र आफ्नो नाम ताम्रपत्रमा लेखाउने ग्यारेन्टी पनि ।

प्रधानमन्त्री ओलीले पहिलो कार्यकालमै मेरो धरहरा मै बनाउछु भन्ने अभियान सुरु गरेका थिए । सो अभियानपछि नेपाल टेलिकमले धरहरा निर्माणको अधिकार लिएर लामो समयपछि आफ्नो निर्णयबाट पछि हटेको थियो । पछिल्लो पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा काठमाडौं महानगरपालिकाको सक्रियतामा एक निर्माण कम्पनीले यसको निर्माण सुरु गर्दा अब पुनः ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहरा पुनर्निर्माण हुने आशा पलाएको छ । काठमाडौंको विरासतका रुपमा रहेका धरहरा करिब २ वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको छ । यसमा कुनै सबै पक्षको भरपुर सहयोगबाट कामले गति लिनेछ भन्ने आशा गर्न सकिन्छ । तर प्रधानमन्त्री ओलीले धरहरा निर्माणलाई नै आफ्नो अस्तित्वको विषय बनाउनु हुँदैन । ओलीकै सक्रियतामा धरहरा पुनर्निर्माण भए पनि यो राष्ट्रिय सम्पदा हो, ऐतिहासिक महत्व र मुलुकको गौरब तथा पहिचानको विषय भएकाले यो कुनै एक अमुक व्यक्तिको गुणगान स्तम्भ होइन भन्ने कुरामा यो सरकार क्लियर हुनुपर्छ ।

 “पछिल्लो पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा काठमाडौं महानगरपालिकाको सक्रियतामा एक निर्माण कम्पनीले यसको निर्माण सुरु गर्दा अब पुनः ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहरा पुनर्निर्माण हुने आशा पलाएको छ ।”

धरहराको पुनर्निर्माण सुरु भएसँगै फेरि पनि अर्को प्रश्न उब्जिरहन्छ त्यो प्रश्न हो, धरहरासँगै ढलेका यी लाखौं घर चाँहि कहिले उठ्छन् ? राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको समयमा लिइएको लक्ष्यअनुसारसबै पिडितको निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्नुपर्ने भएपनि अहिलेसम्म ठूलो संख्यामा भूकम्पपीडितहरु खुल्ला आकाश मुनि चिसो कठ्यांग्रिदोमा रात काट्न बाध्य भएको सत्य कतै पनि लुकाउन सकिँदैन ।

प्राधिकरणले आठ लाख ८४ हजार ८ सय निजी आवास निर्माणका लाभग्राहीमध्ये हालसम्म तीन लाख ३७ हजार ३१९ जनाले मात्र घर बनाइसकेका छन् । यो कुल लाभग्राहीको ४५ प्रतिशत मात्र हो । प्राधिकरणका अनुसार करिब १८ हजार पीडित जोखिमको वर्गमा परेका छन् । यस्ता वर्गका १५ वर्षमुनिका बालबालिका मात्र भएका परिवार, एकल महिला, ज्येष्ठ नागरिक वा शारीरिक रूपमा अशक्त व्यक्तिहरू रहेका छन् ।

प्राधिकरणमा पटक पटक फेरिएको नेतृत्वले कामलाई स्वतन्त्रतापूर्वक गति लिन नसकिरहेको हो कि भन्ने देखिइरहेको छ । यस्तो अवस्थामा प्राधिकरणलाई अझ बलियो बनाउने मामिलामा बाहेक अन्य कुरामा हात नहाली काम गर्न दिने हो भने आशा गर्ने ठाउँ धेरै बाँकी छ । तर कामलाई भन्दा धेरै प्रचारलाई मात्र ध्यान दिने, निर्माणका लागि रकम अभाव हुने तर उद्घाटन र शिलन्यासमै लाखौं खर्च गर्ने हो भने लक्ष्यप्राप्ति कठिन बन्दै जानेछ । यसतर्फ सबै सचेत बन्नु र बनाउनु आवश्यक छ । साभारः नयाँपाइला

Leave a Reply

Your email address will not be published. Required fields are marked *